हाम्रो बारेमा

किरात मेवाहाङ याखोम्मा मेवाहाङ समुदायको हक हितका लागि काम गर्ने साझा संस्था हो । यस संस्थाको केन्द्रीय समिति, जिल्ला समिति, एकाई समिति, उपत्यका कार्य समिति तथा विभिन्न भातृ समितिहरु रहेको छ । याखोम्मा अर्थात समुह वा संगठन भन्ने बुझिन्छ । मेवाहाङ जातिको भाषा, संस्कृति, रितीरिवाज, परम्परा लगायतको संरक्षण संवद्र्धन यस संस्थाको प्रमुख कार्यहरु हुन् । २०७५ सालमा जिल्ला प्रशासन कार्यालय संखुवासभा, समाज कल्याण परिषदमा दर्ता भई विभिन्न कार्य सञ्चालन भई रहेको छ । खाँदबारी नगरपालिका वडा नं. १ मा केन्द्रीय कार्यालय रहेको छ ।

मेवाहाङः उत्पत्ति, संस्कार र अवस्था

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यस विविधताभित्र आदिवासी जनजातिहरूले आ–आफ्नै मौलिक इतिहास, भाषा, संस्कृति, संस्कार र जीवनपद्धतिमार्फत नेपाली सभ्यतालाई समृद्ध बनाउँदै आएका छन् । ती आदिवासी समुदायहरूमध्ये मेवाहाङ जाति पनि एक प्राचीन किराँत समुदाय हो, जसको उत्पत्ति, बसाइँसराइ र सामाजिक संरचना आफ्नै मौलिक मुद्दुममा आधारित छ ।

मेवाहाङ जातिको उत्पत्तिकथा आदिकालको महाशून्यदेखि सुरु भई जल, सृष्टि र मानव विकासको क्रमसँग जोडिएको छ । छाकुवाहाङ र उनका सन्तानहरूबाट आरम्भ भएको ऐतिहासिक यात्राले खुवालुङ, कोशी प्रणाली र विशेषतः अरुण (रुइयुवा) नदी उपत्यकालाई मेवाहाङहरूको पुर्खाैली भूमीका रूपमा स्थापित गरेको देखिन्छ । यस भू–भागमा मेवाहाङहरूले चारी (भूमिदेवता) स्थापना गरी पहिलोपटक संगठित बसोबास, खेतीपाती, संस्कृति र सामाजिक प्रणालीको विकास गरेका थिए ।

इतिहासमा गोरखाली राज्यसँगको संघर्ष, किपट प्रणाली, “राई–पगरी” मार्फत गरिएको स्थानीय शासन, आफ्नै भाषा (मेवाहाङ खनावा), भेषभूषा, चाडपर्व, शिली, संस्कार र खानपानसम्बन्धी आस्थाले मेवाहाङ जातिको छुट्टै पहिचान निर्माण गरेको छ । यद्यपि, जनगणनामा “राई” भित्र समेटिने प्रचलनका कारण मेवाहाङहरूको वास्तविक जनसंख्या, भाषा प्रयोग र सांस्कृतिक अवस्थाको यथार्थ चित्र अझै पूर्ण रूपमा बाहिर आउन सकेको छैन । यही सन्दर्भमा मेवाहाङ जातिको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पहिचानलाई अभिलेखीकरण गर्नु आजको आवश्यकता हो ।

उत्पत्तिको कथाः

मेवाहाङ मुद्दुमअनुसार आदिकाल महाशून्य थियो र त्यहाँ केवल काल थियो । पृथ्वीमा माटो, ढुंगा, वृक्ष, प्राणी आदि केही थिएनन् । पछिबाट जल भयो, समुद्र–सागर भयो र जताततै जलले पृथ्वीलाई छोप्यो । त्यस जलमाथि तरंगहरु पैदा भए र बेतोडको हावाहुरी चल्न थाल्यो जसबाट फीँज उत्पन्न भयो । फीँजबाट हिलो भयो र स–साना जलप्राण्ीहरु पैदा हुन थाले । तीमध्ये हेल्कुम्बु भन्ने ठाउँबाट विभिन्न कालखण्डको हजारौं पुस्ता हुँदै समुद्र छाडेर आउँदा छाकुवाहाङको पालामा थारुवा (हाल पूर्वी तराई)मा आए । छाकुवाहाङका छोराहरुमध्ये तीन भई केराको थाम र चिन्डोका सहारामा खुवालुङ आई पुगे । जुन समयमा बरहाक्षेत्र धामको सुरुवात भएको थिएन ।

छाकुवाहाङका सन्तानहरु जेठा खुम्बुहाङ, माइला मेवाहाङ, साइँला मेअ्नाहाङ र अरु भाइहरु मेचेहाङ, थारुहाङ र कोचेहाङहरु थिए त्यस तराईबाट पनि खुम्बुहाङ, मेवाहाङ र मेअ्नाहाङ आ–आफ्ना पत्नीहरु खुम्निहाङमा, शिरिहाङमा र काशीहाङमालाई लिएर वनकेरा, बोहोरीरुख आदि काट्दै र बाटो बनाउदै कोसीनदी पछ्याएर रदाम्भा (बाह्रक्षेत्र) आइपुगे । त्यहाँबाट पनि त्रिवेणी (दूधकोसी, अरुण र तमोर मिसिएको ठाउँ) आएर त्यहाँ भएको खुवालुङ ढुंगालाई साक्षी राखेर ती तीनभाइ छुटिए । जेठा खुम्बुहाङ याङवा (दूधकोसी), माइला मेवाहाङ रुइयुवा (अरुणनदी) र साइँला मेअ्नाहाङ थावा (तमोरनदी)तिर लागे र अन्त्यमा त्यही नदीहरुका सेरोफेरोलाई आ–आफ्ना आबादी बनाएर बसे । दाजुहरु पछ्याउँदै आउँदा फाँडेका वनकेरा टुसाइ सकेका र बोहोरीरुख काटेका डोबहरु पनि पुराना भइसकेका (वास्तावमा केराको थाम काटेपछि थोरै समयमा नै त्यसको गुभो पलाइहाल्ने र बोहोरीरुख काटेको डोब केही समयमा नै कालो भइहाल्ने प्रकृतिका हुन्छन् ।) भेटिएकाले दाजुहरुले छाडेर गएका निकै दिन भइसके छन् भन्ने भ्रममा परी अरु भाइहरु तराईतिरै फेरि फर्किएर गए ।
रुइयुवा भेकमा भएका अहिलेका मेवाहाङ, लोहोरङ, याम्फु, याख्खा आदि किराँतीहरु उनै माइला मेवाहाङका सन्तान हुन् ।

मेवाहाङहरुको आफ्नो मुद्दुमअनुसार रुइयुवा (अरुणनदी) उपत्यका (भोजपुर जिल्लाको पूर्वोत्तर, धनकुटा जिल्लाको पश्चिमोउत्तर र संखुवासभा जिल्लाका पश्चिम तथा उत्तरी क्षेत्र तिब्वतसँगको साँधसम्मको भू–भाग) नै मेवाहाङ जातिको पुर्खौलीभूमि हो जहाँ उनीहरुका पुर्खाले पहिलोपल्ट आबाद गरेर आफ्नो चारी (भूमिदेवता) स्थापना गरेका थिए । यही चारीभूमिको रक्षार्थ गोरखाली फौजसँग वि. सं. १८३१ सालमा दिङलागढीमा उनीहरुले युद्घ गरेका थिए र युद्घपछि यही क्षेत्रको लागि मेवाहाङ नेतृत्ववर्गलाई गोरखाली सत्ता वा शाह–राणा वंशहरुले “राई–पगरी” पद थमाएर शासन चलाएका थिए । त्यसैले “दक्षिणमा माछा खेल्ने ठाउँदेखि उत्तरमा डाँफे नाच्ने ठाउँसम्म मेवाहाङको किपट हो ।” भन्ने कथन रुइयुवा उपत्यकामा कुनै बखत चलनचल्तीमा थियो । हुन त, मेवाहाङहरुले बिहेवारीमा धितो–धारान तथा वागदान गर्दा “पूर्व टिष्टा, पश्चिम सिन्धुसांगा, उत्तर पोप्टीपोखाङ र दक्षिण साँवरी भञ्ज्याङ यति चारकिल्लाभित्र तिमी दुलहीले तलमाथि गरे तिम्रो दुलहाको ढालखुँडा र एकधार्नीको खुकुरी आजदेखि जाग्यो र तिमी दुलहाले तलमाथि गरे तिम्री दुलहीको पनि एकधार्नीको खुर्पा आजदेखि जाग्यो !” भनी, उक्त बृहत् भौगोलिक साँध–सिमानाकोे वर्णन गरेको पनि पाइन्छ ।

मेवाहाङ जातिमा खक्चुलुक्पा

खक्चुलुक्पा एक मेवाहाङहरुको पिता पुर्खाको रुपमा लिईन्छ । उनको पालाबाट नै व्यवस्थित समाजको सुरुवात भएको विश्वास गरिन्छ । खेतीपाती गर्ने, शिकार खेल्ने, घर बनाउने, हाङशिली नाच्ने, घरमा खमाङ राख्ने, तीन चुला राखि पुज्ने जस्ता कार्य उनको पालाबाट सुरु भई अहिले मेवाहाङ समुदायमा सोही संस्कार निरन्तरता छ । उनको पालाबाट नै संस्कार संस्कृति, रितीरिवाजसहितको समाजिक विशेषताको विकास भएको जनविश्वास मेवाहाङहरुमा विद्यमान रहेको छ । खक्चुलुक्पाको कथाको पूर्ण पाठबाट अझ स्पष्ट रुपमा मानव सभ्यताको विकासबारे बुझ्न सकिन्छ । जसका लागि छुट्टै अध्ययन आवश्यक छ ।

जनसंख्या
नेपालको जनगणना २०७८ को जनगणनाअनुसारको जनसंख्या ५१०० देखिएको छ । अनुमानित मेवाहाङ जातिहरु २५ हजार बढि रहेको छ । जातमा राई लेख्ने प्रचलनका कारण संख्यामा यथार्थ तथ्याङ्क आएको छैन । तथ्याङ्क विभागमा मेवाहाङ जाति कोड नं. १०३ रहेको छ ।
भाषाः

मेवाहाङहरु आफ्नै भाषा मेवाहाङ खनावा बोल्ने गर्दछन् जसलाई मेवाहाङ पुअ् पनि भनिन्छ । मेवाहाङ भाषा भोट बर्मेली परिवार बोडिक किरात शाखा अन्तर्गत पर्ने भाषा हो । त्रिभुवन विश्व विद्यालय भाषा आयोगका अनुसार हालसम्म मेवाहाङ भाषामा श्वर वर्ण १३ र ब्यन्जन वर्ण २२ वटा पहिचान भएको छ । यस भाषालाई आयोगले २०७१ सालमा सुचीकृत गरि सकेको छ । नेपाल तथ्याङ्क विभागमा भाषा कोड ६१ रहेको छ ।

भेषभुषाः

पुरुषको भेषभुषाः कपासको लोअ्लुङ (दौरा वा भोटो जस्तै देखिने), खुकुलोसुरुवाल, सेतो पटुका, फोपाली (धारिलोे आकारको टोपी), सेतो फेटा, अग्रभाग कालो भएको अस्कोट र पुवाँलो वा मुगाको माला हो । भने महिलाको भेषभुषाः कपासको छिटको कालो वा कैलो रंगको छड्के गुन्यू; हरियो, सेतो वा सुन्तले रंगको पटुका, चौबन्दी चोलो (सेतो रंगको होइन ।), फोअ्मा (कपाल ढाक्ने एककिसिमको कपडा) र हेम्बरी (मफलर जस्तै छाती ढाक्ने कपडा) । गरगहनामा रेजी, चन्द्रहार, पुवाँलो वा मुगाको माला, नौगेडी, बाघमुखेकल्ली, बाघमुखेचुरा, मुन्द्री, लुर्का, ढुंग्री, गोदावरी, बुलाकी, कानफूली, शिरफूल, हाँसुली, नुङ्वारी आदि ।

संस्कृति

चाडपर्वः मेवाहाङ जातिको प्रमुख चाड पाक्तुवारा हो । मंसिरे पुर्णिमाको दिन पर्ने यो चाड मेवाहाङ समुदायले विशेष चाडको रुपमा मनाउने गरिन्छ । यस दिन पूर्ण र चम्किलो चन्द्रमा देखिने, मेवाहाङ समुदायले विभिन्न कुलपुजा, पितृपुजा, बर्षभरीका कामहरु सकेर मनाईने गरिन्छ । मंसिरे पुर्णिमा भनिए पनि अघिल्ला पुर्खाहरुले यही दिन हर्षोउल्लासका साथ मनाउँदै आएको भनाई छ । आदी पुरुष खक्चुलुक्पाले घर बनाएर घरपैंचोमा चेलीहरुसंग झ्याम्टा बजाउँदै हाङशिली गरेको दिन समेत सोही दिन भएको भन्ने मिथक रहेको छ ।
यो संगै रेमावारा (सउनेसंक्रान्ति), पाङदुरेनाच (भदौ महिनामा पाङदुरकोदो पाकेपछि सोको सह रहिरहोस् भनी सोकै जाँड खाँदै चारीसँग वरदान माग्दै घरघरै लगाइने नाच), चोङ्सी (धान–कोदो पाकेपछि असोज–कार्तिक महिनामा गरिने न्वागी) र (माङनुवरा) माघेसंक्रान्ति मेवाहाङहरुका आफ्ना मुख्य चाडपर्व हुन् । त्यस्तै पाङ्लुम, रुसामाङ, दम्योङ, सखेवा (उभौलीको समयमा फागुन चैतको महिना पारी भुमी पुज्ने प्रचलन जुन ठाउँ विशेष नाम रहेको छ ।)

शिलीः
मेवाहाङ जातिहरुले विभिन्न चाड पर्व, उत्सव समरोहमा र धर्मकर्म गर्दा सामुहिक रुपमा गरिने फिअ्मा (अभिनय) गरिने परम्परा नै शिली हो । शिली प्रस्तुत गर्दा संस्कार अनुसारको विधि अपानाईन्छ । यसमा विशेष गरि झ्याम्टा, ढोल, बोब्लोवा, अदुवा, अक्षता, सुँगुरको मासु, वुहुलुम्÷सायसुङ (मुसुरे कटुसको लिंगो) आदी आनिवार्य सामाग्री हुन् । शिलीहरुमा विशेषतः हाङशिली, थोक्लुङ शिली, यावाशिली, चमुम शिली आदी हुन् । शिली सुरु र अन्त्य नाक्छोङले गर्छन् ।


संस्कारः
मेवाहाङ जातिको आफ्नै ंसंस्कार वा विधि छ । मेवाहाङहरुले आफ्नै परम्परालाई संस्कार मानि कुल देवतादेखि जीवनकालमा विविध संस्कारहरु रहेको छ । मेवाहाङशरुले प्रमुख र विशेषतः संस्कारहरुका बारेमा यहाँ चर्चा गरिन्छ ।
सगोङलिमा (कोखपूजा)ः पेटमा बच्चा खेल्न थालेपछि वा ५ महिना पुगेपछि सगोङलिमा गरिन्छ अर्थात् समाजमा आउनेवाला मानवको लागि खुसी व्यक्त गरिन्छ र उनी सुरक्षितपूर्वक यस धर्तीमा अवतरण होस् भनी कामना गरिन्छ ।

लोङलिम्मा (न्वारन)ः बच्चा जन्मिएपछि छोरी भए ५ दिनमा र छोरो भए ६ दिनमा लोङलिम्मा गरिन्छ र उनीहरुका नाम पनि त्यसैदिन राखिन्छ ।
चाम–हाअ्मा (भातखुलाई÷पास्नी)ः छोरीको भए ५ महिना र छोरोको भए ६ महिनामा चाम् हाअ्मा गर्न पर्दछ । यसबेला आमाबाबु वा जेठोबाठोले सबभन्दा पहिले अनेक परिकारहरु बच्चालाई खुवाउने र आशीर्वाद दिने गर्दछन् ।

ताङा–खोमा (छेवर) तथा तेअ्–पिअ्मा (गुन्यूचोली दिने)ः छोरो ३ वा ५ वर्ष पुगेपछि उनको ताङा–खोमा गरिन्छ भने छोरी ५ वर्ष पुगेपछि मात्र उनको तेअ्–पिअ्मा गर्ने कर्म सम्पन्न हुन्छ । ताङा–खोमा गर्दा बच्चाको मामाले केश काटी दिने गर्दछन् र पहिलो टुपी दाहिने कानको माथि राखी दिने गरिन्छ ।

सुरिखा (विवाह)ः प्रायः २० वर्ष कटेपछि केटा र केटीको बिहे गरिदिने चलन छ । विशेषतः मागी विवाह, प्रेम विवाह र चोरी विवाह (प्रेम गरेर र मनपरेकी केटीलाई जबरजस्ती तानेर लगी गरिने विवाह) गरी तीन प्रकारका विवाह भएपनि सबैमा चारी–हेङखुवा (बेहुला र बेहुलीलाई सँगै राखेर मुद्दुमद्वारा भूमिदेवता, कुलपितृ र चुल्हालाई भाकेर उनीहरुका एकअर्काका टाउको ठोकाइदिने र जुठो मिसाउने रीत) र धितो–धारान तथा वागदान (माइतीले चेलीलाई जुवाइँको जिम्मा लगाउने रीत) नगरी बिहे छानछिन भएको मानिदैन । यो छानछिन तत्कालै वा धेरै वर्षपछि पनि गर्ने चलन छ । यदि बिहे छानछिन नभई स्वास्नी परलोक भएमा त्यो स्वास्नी लोग्नेको शिक्ला (कुलपितृ)मा गणना हुँदैन र उनको काज–किरिया माइतीले नै गरी दिनपर्ने हुन्छ ।

मृत्यु संस्कारः मेवाहाङ मुद्दुमअनुसार मेवाहाङहरुको मरण नुसी (राम्रो मरण वा कालगति तथा वीरगतिले भएको मरण) र ईसी (नराम्रो मरण वा दुर्घटना भइ, घाउ–खटिरा भइ, बौलाहा भएर, बच्चा जन्माउन नसकी र गर्भ तथा बच्चैकालमा भएको मरण) गरी दुई प्रकारका हुन्छन् । यीमध्ये नुसीलाई आफ्नै जग्गा वा चारीभूमिमा हेकुलुखुम (चिहान) बनाई गाड्ने चलन छ र अन्य ठाउँमा भए जमिनको खातिर ४ दाम हेकुलुखुममै राखिदिएर गाड्न पर्दछ । यो नुसीको लागि तीनरातको गन्तीले साढे दुईदिन वा तीनदिनसम्म घरपरिवार तथा आफ्नो वंशले नून, तेल र मांस बारेर चोखिने चलन छ । यस नुसी अन्तर्गत परेकाहरुलाई नै पछि शिक्ला (कुलपितृ) मानिन्छन् र प्रत्येक साल नयाँ अन्नबाली पाकेपछि चोक्सी÷चोङसी (न्वागी)मा खान र आशीर्वाद माग्न बोलाइन्छन् । तर ईसी अन्तर्गत परेकाहरुलाई भने जंगल तथा खोलाका किनारतिर गाडिन्छन् र उनीहरुका लागि जुठो बारिदैनन् । उनीहरुलाई शिक्लामा बोलाउन पनि हुँदैनन् । ईसी अन्तर्गत परेकाहरुलाई पासुङ (पुर्खा)को बद्ला सेलेमी (थाल र ढ्याङ्ग्रो मात्र होइन ढोल बजाएर पनि चिन्ता गर्नसक्ने धामी)ले बाटो लगाउने गर्दछन् ।

कुलपितृसँग सम्बन्धित खाद्यपदार्थः विशेषगरी धान, कोदो, अदुवा, मासदाल, तुनेबोडी, जाँड, रक्सी, माछा, सुँगुर र कुखुरा मेवाहाङ जातिलाई नभई नहुने कुरा हुन्् । यी कुराहरु नहुने वा नभएका ठाउँमा उनीहरु बसोबास गर्न रुचाउदैनन् । किनकि यी कुराहरु र यिनबाट बनेका परिकारहरु उनीहरुका कोखपूजादेखि मृत्युसम्मका संस्कारहरुमा चाहिन्छन् । खामाङ, सितुलुङ÷सुप्तुलुङ, शिक्ला र चारी पुज्दा त झन् अनिवार्य रुपमै चाहिन्छन् । नाता सम्बन्ध जोड्न र अतिथि सत्कारका लागि पनि यिनबाट बनेका परिकारहरु अति आवश्यक ठानिन्छन् । थार, मृग, कस्तूरी, डाँफे, मुनाल, कालिज आदिका सुकुटी पनि चोक्सी÷चोङसी गर्दा पितृलाई चढाउँनपर्ने हुन्छन् ।

कुलपितृसँग सम्बन्धित वनस्पतिः मुसुरेकटुस, घुङरिङ वा निगालो, विभिन्न किसिमका बाँस, मलाता, साल, झाँक्रीपात, अम्लिसो, कचुर, बासना आउने र नआउने दुवै किसिमका फूल, काउलो, कागभलायो, कान्ले, तितेपाती, खर÷शिरु, सुनपाती, भैरुङपाती, वायाबुङ (वाया नामक कुल पुज्दा चाहिने फूलहरु) आदि वनस्पतिहरु मेवाहाङ जातिका रीतिरिवाजमा नभइ हुँदैनन् ।

मेवाहाङले खान नहुने चीजहरुः मेवाहाङ जातिले बाख्राको मासु, हरियो–कालो रंगको कत्लेमाछा, कालोजुरेली, बेथेसाग र कुभिन्डो खान हुँदैनन् र खाँदैनन् । पुरुषहरुले सुँगुरको आन्द्रा–भुँडी खान हुन्न । अझ; तेङा, लाङछावा र योक्छारुङ थरकाहरुले भटमास पनि खाने गर्दैनन् । मुद्दुमअनुसार उनीहरुका पूर्खाले यी चीजहरुमा भयंकर अफाप दोष देखे–भेटेका थिए र अहिलेसम्म पनि कोही मेवाहाङले यी चीजहर खाए तुरुन्तै बिराम हुनजाने लक्षण देखिन्छ र बिरामी पनि भई हाल्छन् । यस्तो हुँदा चारी, खामाङ, सितुलुङ÷सुप्तुलुङ र शिक्लासँग माफी माग्दै चोखोपानीमा तितेपातीे मिसाएर खानुपर्ने र नुहाउनपर्ने हुन्छ अर्थात् चोखिनपर्ने हुन्छ ।


पाछा (मेवाहाङ भाषामा थर)ः
मेवाहाङ जातिका पाछा अर्थात थर हालसम्म ५७ वटा पहिचान भएको छ । एकै पाछाभित्र विहावारी हुँदैन । वैवाहिक सम्बन्धबाट नै पाछाहरु बन्ने र सुवाङ्गे भाई बनाउँदा पनि पाछा बन्ने गर्दछ ।
१. ओङलुङ
२. ओङलुङ देक्छेङ
३. ओयोग
४. इछोङमा
५. उछोङमा
६. कयुँङ
७. केत्त्रा
८. केतारा
९. खाइचोङ
१०. खावाङ
११. खुवाङ
१२ ङोरी
१३ ङोरुहाङ
१४. चपेन
१५. छुकुवा
१६. तेङा
१७. तप्खुतेमोरा
१८. बाल तेमोरा
१९. देक्छेङ
२०. नेवा
२१. पापुङ्ग
२२. पोयोम
२३. फित्लुङ
२४. छेबिक्सिक
२५. बुङलावा
२६. बोप्ताङ
२७. मालुङ
२८. मेम्पाङ
२९. याङदोक्छोङ
३०. योक्छारुङ
३१. युङमारुङ
३२. युम्पाङ
३३. लाक्छावा
३४. लाङछावा
३५. लाक्छोङ
३६. लाक्फेवा
३७. लाम्दाकावा
३८. लिमखिम
३९. लुम्लुमा
४०. लेन्दा
४१. वलुङ
४२. मझुवाली
४३. सलेवा
४४. साम्बेवा
४५. सिङलेगा
४६. तेमोर्छा
४७. तेमोर्छोङ
४८. ओयोग देक्देछेङ
४९. फित्लुङ देक्छेङ
५०, कायुङछा
५१. सेलेक्छा
५२. रुङ्मी
५३. योङनुहाङ
५४. छेप्छोहाङ
५५. बाला
५६. साम
५७. देबिक्सिक

निष्कर्षः

मेवाहाङ जाति केवल एक थर वा राई समुदायभित्रको उपसमूह मात्र नभई आफ्नै स्पष्ट उत्पत्ति कथा, पुर्खौली भूमी, भाषा, संस्कृति, संस्कार, सामाजिक संरचना र जीवनदर्शन भएको एक स्वतन्त्र आदिवासी जनजाति हो । मेवाहाङ मुद्दुम, चारीपूजा, कुलपितृ परम्परा, शिली, विशिष्ट चाडपर्व, खान नहुने–खाने वस्तुसम्बन्धी नियम र ५७ वटा पाछा प्रणालीले यस जातिको मौलिकता र पहिचानलाई स्पष्ट रूपमा देखाउँछ ।

जनगणनामा देखिएको न्यून संख्या वास्तविक अवस्थाको प्रतिनिधित्व नगर्ने तथ्य यस आलेखबाट प्रस्ट हुन्छ । स्वपहिचानको अभाव, प्रशासनिक वर्गीकरण र भाषिक क्षयका कारण मेवाहाङ जाति सांस्कृतिक जोखिमतर्फ उन्मुख हुनसक्ने अवस्था देखिन्छ । त्यसैले मेवाहाङ भाषाको संरक्षण, संस्कार–संस्कृतिको दस्तावेजीकरण, युवा पुस्तामा हस्तान्तरण र राज्यस्तरमा स्पष्ट पहिचान सुनिश्चित गर्नु अत्यन्त आवश्यक छ ।

आईएलओ १६९ लगायतका अन्तर्राष्ट्रिय मापदण्डअनुसार पनि मेवाहाङ जाति आदिवासी जनजातिका सबै आधारहरू पूरा गर्ने समुदाय हो । यसैले मेवाहाङ जातिको स्वपहिचानलाई सम्मान गर्दै भाषा, संस्कृति, भूमि र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्नु केवल मेवाहाङ समुदायको अधिकार मात्र नभई नेपालको बहुसांस्कृतिक पहिचान जोगाउने साझा दायित्व पनि हो ।